ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार
बागलुङ,भदौ ५ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार भएको छ। विदेशी सिकारीले सिकारबापत सरकारलाई चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व बुझाएका छन्।
गत आर्थिक वर्षमा दुई चरणमा भएको सिकारमा पहिलो चरणमा आठ नाउर र पाँच झारल तथा दोस्रो चरणमा १३ नाउर र छ झारलको सिकार गरिएको हो। अनुमति लिएका केही नाउर र झारल भने मौसम परिवर्तन, सिकारी बिरामी हुनु, निसाना चुक्नु र प्राविधिक समस्याका कारण सिकार हुन सकेनन्।
अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट विदेशी सिकारी ढोरपाटन आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तुको सङ्ख्याका आधारमा हरेक वर्ष सिकारको कोटा निर्धारण गर्दै आएको छ।

