बाढीले नुवाकोट शिवपुरीमा कृषि उपज संकलन केन्द्र र सडक पुलमा क्षति
नुवाकोट, भदौ ५ । गएरातिको अविरल वर्षापछि आएको बाढी र पहिरोले नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा रहेको कृषि उपज संकलन केन्द्रसहित सडक पुलमा क्षति पुर्याएको छ।
मुलाबारी क्षेत्रबाट आएको पहिरो र लेदोसहितको बाढीले शिवपुरी गाउँपालिका कृषि उपज संकलन केन्द्र, छहरे–पाटीभञ्ज्याङ लोकमार्गको पुल, हुलाक कार्यालय तथा कर्मचारी आवासमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीका कारण आसपासका घर तथा पशुचौपायामा जोखिम बढ्नुका साथै कृषि योग्य जमिनमा समेत क्षति पुगेको छ।
बाढीले छहरेबाट पाटीभञ्ज्याङ जाने सडकखण्डको खहरे खोलामा रहेको पुलमा समेत क्षति पुर्याएपछि उक्त मार्गबाट सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको छ। पुलबाट तत्काल सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले पञ्चकन्या र शिवपुरी गाउँपालिकाका स्थानीय तथा यस मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
बाढी र पहिरोबाट थप क्षति हुन सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

