नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोको वितण्डा, तत्काल उद्धार र सडक खुलाउन राधिका तामाङको माग



नुवाकोट, भदौ ५ । गएराति परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न स्थानमा सडक, पुल, कृषि योग्य जमिन तथा पशुचौपायामा क्षति पुगेको बागमती प्रदेश सभा सदस्य राधिका तामाङले जानकारी दिनुभएको छ।

तामाङले सामाजिक सञ्जालमार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न र अवरुद्ध सडक तत्काल खुलाउन प्रदेश तथा सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अहिले अधिक वर्षा हुने समय रहेकाले सम्भावित विपत्तिबाट जोगिन आमनागरिकलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ।

पञ्चकन्या गाउँपालिका–४ का मुख्य तथा ग्रामीण सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। पञ्चकन्या–२ भसभसेका सृष्टिलाल श्रेष्ठको गोठ भत्किँदा भैँसी घाइते भएको तथा वडा नं. ३ का सोमबहादुर तामाङको गोठ पहिरोले बगाउँदा दुईवटा भैँसी घाइते भएका छन्।

पञ्चकन्या–३ झिगानेका फुललामा गलानको गोठ पूर्ण रूपमा बगाउँदा दुईवटा भैँसी घाइते भएका छन् भने घरबारीसमेत भासिएको जनाइएको छ। सोही क्षेत्रका बोगिडाँडाका जितबहादुर ब्लोनका दाजुभाइको घरमा पहिरो झरेर पूर्ण क्षति पुगेको र प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि घ्याङ्स्वारामा सार्ने पहल भइरहेको तामाङले उल्लेख गर्नुभएको छ।

शिवपुरी गाउँपालिका–५ स्थित कृषि उपज सङ्कलन केन्द्रमा समेत क्षति पुगेको छ। छहरे–पाटीभञ्ज्याङ लोकमार्गअन्तर्गतको पुलमा क्षति भएपछि बुढीशेरा–पाटीभञ्ज्याङ सडक अवरुद्ध भएको छ।

यस्तै, तादी गाउँपालिका–४ ढाँडेमा ठूलो पहिरो आएपछि सातबिसे–समुन्द्रटार सडकखण्ड अवरुद्ध भएको छ। पहिरोका कारण केही घर जोखिममा परेका छन् भने खेतीयोग्य जमिनमा समेत क्षति पुगेको जनाइएको छ। लिखु गाउँपालिका–१ ढिकुरेमा पक्की पुलको छेउमा क्षति पुगेपछि सडकसमेत अवरुद्ध भएको छ।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रको आवतजावत तथा दैनिक जनजीवन प्रभावित भएको छ। तामाङले सम्भावित थप विपत्तिको सामना गर्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सम्बन्धित निकायबीच तत्काल समन्वय गरी उद्धार, राहत तथा सडक सञ्चालनको काम अघि बढाउन अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्