रास्वपामा नौ नयाँ केन्द्रीय सदस्य मनोनित, स्थानीय निर्वाचनको तयारी तीव्र



काठमाडौँ,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ। पुरुषोत्तम सुप्रभात यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। डा. नमिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्तामा मनोनित भएका छन्।

त्यस्तै, गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो।

विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ।

बैठकले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’लाई प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ। साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णय गरिएको छ।

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने भएको छ। निर्वाचन तयारीकै क्रममा केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ। यसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नुहुनेछ।

बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि भएको छ।

रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनित ५१ र पदेन केन्द्रीय सदस्यका रूपमा सात प्रदेश सभापतिसहित १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्