पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने नाट्टाको प्रतिबद्धता
काठमाडौँ,भदौ ५ । पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन तथा ट्राभल व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा नयाँ नेतृत्व चयन भएसँगै व्यवसायीहरूले पर्यटन क्षेत्रका समस्या र अवसर पहिचान गरी नयाँ ढंगले अघि बढ्ने बताएका हुन्।
सन् २०२६–२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको स्वागतमा नाट्टाको केन्द्रीय सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेसहित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा स्वागत गर्नुभयो।
नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो। नयाँ नेतृत्वले संस्थाको विगतको अनुभवलाई आत्मसात् गर्दै पर्यटन तथा ट्राभल व्यवसायका चुनौती समाधान र सम्भावनाको उपयोगमा जोड दिने प्रतिबद्धता जनाएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा भरतजंग पाण्डे, वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सहकोषाध्यक्ष/सहसचिवमा जीवन कोइराला निर्वाचित हुनुभएको छ।
त्यस्तै, कार्यसमिति सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले नाट्टाको गरिमामय इतिहासलाई निरन्तरता दिँदै नेपालको पर्यटन तथा ट्राभल व्यवसायको विकास, व्यवसायीका समस्या समाधान र पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

