भारी वर्षाले पञ्चकन्यामा क्षति, सडक खुलाउन बिहानैदेखि जनप्रतिनिधि र विपद् टोली परिचालन
नुवाकोट,भदौ ५ । गएराति परेको भारी वर्षाले पञ्चकन्या गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ भने घर, जग्गा तथा खेतीयोग्य जमिनसमेत उच्च जोखिममा परेका छन्।
भारी वर्षासँगै विभिन्न स्थानमा खसेको पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन्। कतिपय ठाउँमा सडक अवरुद्ध भएपछि दैनिक आवतजावतमा समस्या उत्पन्न भएको छ भने पहिरोका कारण थप क्षति हुन सक्ने जोखिम कायमै रहेको गाउँपालिकाले जनाएको छ।
विपद्को अवस्थालाई मध्यनजर गर्दै शुक्रबार बिहानैदेखि गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसीसहित विपद् व्यवस्थापन टोली र कर्मचारीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिइएको छ।
यस्तै, पहिरो तथा वर्षाबाट प्रभावित र जोखिममा परेका परिवारको अवस्थाबारे स्थलगत जानकारी लिने तथा उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउने काम पनि अघि बढाइएको छ। जोखिममा रहेका परिवारका लागि अस्थायी आवासको व्यवस्थापन गर्ने तयारीसमेत भइरहेको गाउँपालिकाले जनाएको छ।
विपद्को समयमा स्थानीय तहको नेतृत्व प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर उद्धार, सडक सञ्चालन, राहत तथा अस्थायी आवास व्यवस्थापनमा जुटेपछि प्रभावित नागरिकमा केही राहतको अनुभूति भएको छ। गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

