नुवाकोटमा भएको लोकनृत्यमा स्पार्कल इन्टरनेशनललाई दोहोरो उपाधि



नुवाकोट,भदौ ६ । नुवाकोटको पिपलटारमा आयोजित जिल्लास्तरीय अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा स्पार्कल इन्टरनेशनल स्कुलले एकल र युगल दुवै विधामा उपाधि जितेको छ ।

लोककला तथा संस्कृतिको संरक्षण, संवद्र्धनसँगै विद्यार्थीभित्र लुकेका प्रतिभाको पहिचान र प्रस्फुटन गराउने उद्देश्यले सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा प्रतियोगिता गरिएको हो ।एकलतर्फ उपाधि जितेको स्पार्कल इन्टरनेशनलले ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । गुडविल एकेडेमी दोस्रो, भुपेन्द्र मेमोरियल तेस्रो र ग्लोबल मन्टेश्वरी सान्त्वना भएका छन् । दोस्रो भएको गुडविलले ६ हजार ६ सय ६६ र तेस्रो भएको भुपेन्द्र मेमोरियलले ३ हजार ३ सय ३३ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

युगलतर्फ पनि स्पार्कल एकेडेमीले १५ हजार रुपैयाँसहित उपाधि जितेको छ । तादी भ्यु एकेडेमी दोस्रो हुँदै १० हजार, नेशनल वेथेल एकेडेमी तेस्रो हुँदै ५ हजार तथा ग्लोरी एकेडेमी सान्त्वना हुँदै २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भएका छन् ।

प्रतियोगितामा एकलतर्फ १६ र युगलतर्फ २२ विद्यालय सहभागी थिए । निर्देशक तथा नृत्य निर्देशक माधवराज खरेल र मोडेल तथा नृत्य निर्देशक सुनीता कुँवर निर्णायक रहेका थिए । विजेता तथा सहभागी विद्यार्थीलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नगर उपप्रमुख प्रभा बोगटीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठले लोककला र संस्कृतिको संरक्षणमा विद्यार्थीको सहभागिता महत्वपूर्ण रहेको बताए । उनले मौलिक कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे ।

कलाकार संघका अध्यक्ष केसीले विद्यालय, विद्यार्थी र समुदायलाई जोड्दै लोककला तथा संस्कृतिको संरक्षणका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए । उपप्रमुख बोगटीले विद्यालय तहदेखि नै लोककला, साहित्य, संस्कृति र सिर्जनशीलतासँग सम्बन्धित कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गायक कृष्ण रेउले र दामोदर खतिवडालगायतले सांगीतिक प्रस्तुति दिएका थिए । आयोजक समितिका संयोजक किरणप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्दै उनीहरूको प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो । मौलिक संस्कृति जोगाउने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली पहिचानलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यसहित सांस्कृतिक अभियानलाई निरन्तरता दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्