लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा अवरुद्ध
म्याग्दी,भदौ ६— म्याग्दीमा लेदो माटोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।आज बिहान करिब ५ बजेर २५ मिनेटमा अन्नपूर्ण गाउँपालिका–३ स्थित सुकेबगरमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोले सडकमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएपछि सवारी आवागमन ठप्प भएको छ।
त्यसैगरी, बिहान करिब ५ बजेर ३० मिनेटमा रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पनि सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ। उक्त पहिरोका कारण सो स्थानमा समेत सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। एकै बिहान सडकखण्डका दुई स्थानमा पहिरो खसेपछि बेनीबाट मुस्ताङतर्फ तथा मुस्ताङबाट म्याग्दीतर्फ जाने सवारीसाधन प्रभावित भएका छन्। यात्रु तथा चालकलाई सडक खुल्नुअघि जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेकाले सडक खुलाउने क्रममा समेत उच्च सतर्कता अपनाइएको छ।

