पहिरोले १३ रोपनी खेत बगाएपछि गम्भीरको परिवारको रोजीरोटी खोसियो, सात परिवार विस्थापित



बैतडी, भदौ ६। बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा लगातारको पहिरोले बस्ती नै जोखिममा पारेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ। घरछेउबाट निरन्तर पहिरो झर्न थालेपछि स्थानीय गम्भीर सिंह बोहराको परिवार विगत १० दिनदेखि आफ्नै घरमा सुत्न सकेको छैन। अहिले उहाँ छिमेकीको घरमा आश्रय लिएर बसिरहनुभएको छ।

तर घर गुम्ने त्रासभन्दा ठूलो चिन्ता गम्भीर सिंहलाई आफ्नो जीविकाको आधार बनेको खेत पहिरोले बगाएकोमा छ। परिवारको मुख्य आम्दानीको स्रोत रहेको १३ रोपनी खेत पहिरोले पूर्ण रूपमा बगाएको छ। सोही खेतमा वर्षमा तीन खेती हुने र करिब पाँच क्विन्टल मकै उत्पादन हुने गरेको उहाँले बताउनुभयो। “यही खेत मेरो आम्दानीको मुख्य आधार थियो। पहिरोले सबै लग्यो। म बेरोजगार छु, अब परिवार कसरी पाल्ने?” उहाँको चिन्ता छ।

गम्भीर सिंह पाँच छोराछोरीसहित सात जनाको परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। खेत बगेपछि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको उहाँकी श्रीमती पार्वती बोहराले बताउनुभयो। पहिरोले घरसमेत जोखिममा परेपछि परिवार थप त्रासमा छ। रातापानीमा गत साउन २६ गतेदेखि निरन्तर पहिरो गइरहेको छ। पहिरोले करिब २५ रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीसहितको खेतमा क्षति पुर्‍याएको छ। पहिरोका कारण सात परिवार पूर्ण रूपमा विस्थापित भइसकेका छन् भने थप १९ घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार पानी परेको समयमा जोखिममा रहेका परिवार घर छाडेर सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ। रामसिंह बोहराका अनुसार सात घरको छेउबाट पहिरो गइरहेकाले वर्षा हुँदा स्थानीयलाई घरमा बस्नसमेत डर लाग्ने गरेको छ। पहिरोको आकार निरन्तर बढ्दै गएकाले थप घर जोखिममा परेको स्थानीय कृष्ण बोहराले बताउनुभयो। उहाँका अनुसार रातापानीमा वि.सं. २०७८ देखि पहिरो जाने क्रम सुरु भए पनि यस वर्ष पहिरोले विकराल रूप लिएको हो। पहिरोका कारण स्थानीय खमेल खोलासमेत थुनिन सक्ने जोखिम बढेको उहाँले बताउनुभयो।

वर्षेनी पहिरो बढ्दै गएपछि स्थानीयले दीर्घकालीन समाधानका रूपमा सिंगो बस्ती नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका छन्। स्थानीय लालबहादुर बोहराका अनुसार पहिरो नियन्त्रणको सम्भावना न्यून रहेकाले बस्ती स्थानान्तरण नै दीर्घकालीन समाधान हुन सक्छ। बस्ती नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा सरोकारवाला निकायले रातापानीको स्थलगत अनुगमन गरेको छ। अनुगमनपछि तत्काल जोखिममा रहेका सात परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।

उहाँका अनुसार जोखिममा रहेका परिवारको तथ्यांक संकलन भइसकेको छ। पहिलो प्राथमिकतामा उनीहरूलाई सुरक्षित स्थानमा सारिने र त्यसपछि बस्तीको दीर्घकालीन व्यवस्थापन तथा अन्य आवश्यक विषयमा छलफल गरिनेछ। सुर्नया गाउँपालिकाले पनि पहिरो प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी थालेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार जोखिममा रहेका बस्तीको अवस्थाबारे निगरानी बढाउँदै आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ। पहिरोका कारण घरसँगै खेतबारीसमेत गुमाउँदै गएका स्थानीयका लागि तत्काल सुरक्षित आवास र राहतसँगै दीर्घकालीन पुनर्स्थापना चुनौती बनेको छ। वर्षौंदेखि दोहोरिँदै आएको पहिरो नियन्त्रणभन्दा पनि यसपटक बस्ती र जीविकोपार्जनका आधार नै जोखिममा परेपछि स्थानीयले स्थायी समाधानको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्