विपद्ले थलियो पञ्चकन्या : पुनर्निर्माण र राहतका लागि गाउँपालिकाको अपिल
नुवाकोट, भदौ ६। यही भदौ ४ र ५ गते परेको भीषण वर्षाका कारण नुवाकोटको पूर्वी भेगमा ठूलो क्षति पुगेको छ। वर्षाबाट सबैभन्दा बढी प्रभावित पञ्चकन्या गाउँपालिकामा सडक पूर्वाधारदेखि घर, खेतीयोग्य जमिन, खानेपानी, स्वास्थ्य संस्था तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
सडक पूर्वाधारमा व्यापक क्षति पुगेपछि गाउँपालिकाको सदरमुकाम र राजधानीसँगको यातायात सम्बन्ध प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा किसानले उत्पादन गरेका दूध तथा तरकारी बजारसम्म पुर्याउन कठिनाइ भएको छ भने बालबालिकालाई विद्यालय पुग्नसमेत समस्या भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो।
अध्यक्ष तामाङका अनुसार तीन दर्जनभन्दा बढी नागरिकका घर तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। सयौँ हेक्टर खेतबारीमा साना–ठूला पहिरो गएपछि यस वर्षको कृषि उत्पादनमा समेत ह्रास आउने अवस्था देखिएको छ। कृषकका गोठ भत्किनुका साथै पशुचौपायासमेत बगाउँदा किसानले ठूलो क्षति व्यहोरेका छन्।
विस्थापित परिवारलाई तत्कालका लागि अस्पताल, विद्यालय, सामुदायिक भवन तथा समुदायमा सुरक्षित स्थानमा राखेर गाँस र बासको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। तर, खानेपानीका मुहानदेखि वितरण प्रणालीसम्म क्षति पुगेका कारण स्वच्छ पिउने पानीको व्यवस्थापनमा कठिनाइ भएको र यसले नागरिकको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने जोखिम रहेको गाउँपालिकाको भनाइ छ।
घ्याङस्वाँरा शहीद स्मारक पर्यटकीय पार्कको खेल मैदानमा समेत माथिबाट पहिरो खसेर करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। वडा नं. ४ को स्वास्थ्य चौकी जोखिमपूर्ण अवस्थामा पुगेकाले नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ भने वडा नं. ३ को सामुदायिक भवनमा समेत क्षति पुगेको छ।
वर्षौँको मेहनत र लगानीबाट निर्माण भएका सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेकाले गाउँपालिकाको सीमित स्रोत र साधनबाट मात्रै पुनर्निर्माण सम्भव नहुने गाउँपालिकाले स्पष्ट पारेको छ।
यसैबीच, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले विपद्बाट प्रभावित नागरिक तथा पूर्वाधारको पुनःस्थापनाका लागि सहयोग गर्न संघीय सरकार, प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी संघसंस्था र सहयोगी मन भएका सबैलाई हार्दिक अपिल गरेका छन्।
अध्यक्ष तामाङले विपद्को समयमा नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार तथा राहतमा दिनरात नभनी खटिएका गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गाउँ प्रहरी तथा स्थानीय युवाप्रति आभार व्यक्त गरेका छन्। साथै, उद्धार तथा राहतका लागि निरन्तर समन्वय र उत्प्रेरणा प्रदान गरेकोमा प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायलाई धन्यवाद दिएका छन्।

