थानापती सेवा समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं,भदौ ७ । सामाजिक एकता, आपसी सद्भाव, सहयोग र सेवाको भावनालाई प्राथमिकता दिँदै आएको थानापती सेवा समाजले आफ्नो १२औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ।

शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित त्रिवेणी ब्याङ्केटमा आयोजित साधारणसभा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा शिवपुरी गाउँपालिका–८ का अध्यक्ष केशवप्रसाद रिजाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै जनज्ञान निकेतन माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष हरिप्रसाद सिटौला लगायत थानापती समाजसँग आबद्ध विभिन्न क्षेत्रका व्यक्तित्व तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समाजले विगतदेखि नै आफ्ना सदस्यहरूलाई एकताबद्ध गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। वार्षिक साधारणसभा, तीज विशेष कार्यक्रम, सदस्यहरूको निधन हुँदा परिवारसम्म पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने, विभिन्न छात्रवृत्तिमार्फत शिक्षालाई प्रोत्साहन गर्ने तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनेजस्ता सामाजिक कार्यमा समाज सक्रिय रहँदै आएको छ।

कार्यक्रमका अवसरमा जनज्ञान निकेतन माध्यमिक विद्यालयको कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र तथा चेक प्रदान गरी सम्मान गरिएको थियो।

साधारणसभामा विभिन्न तीज गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतीमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन बद्री खकुरेलले गर्नुभएको थियो।

थानापती सेवा समाजका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजले एकता, सहकार्य, भाइचारा र सामाजिक सेवामार्फत आफ्नै छुट्टै पहिचान स्थापित गर्दै आएको चर्चा गरिएको थियो।

थानापती सेवा समाजले शिवपुरीलगायत विभिन्न जिल्लामा सामाजिक सेवा, आपसी सहयोग र सामुदायिक एकताको क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्