साढे दुई दशकपछि हेटौँडा कपडा उद्योगमा फेरि गुञ्जियो ‘खटखट’ आवाज
हेटौँडा,भदौ ७। लामो समयदेखि सुनसान बनेको, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष भएको हेटौँडा कपडा उद्योगमा साढे दुई दशकपछि फेरि कपडा बुन्ने तानको ‘खटखट’ आवाज गुञ्जिन थालेको छ।
उद्योग पुनःसञ्चालनको तयारीसँगै जीर्ण अवस्थामा रहेका पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याउन थालिएको हो। काठमाडौँबाट प्राविधिक टोलीसहित उद्योग पुनःसञ्चालनमा योगदान गर्न हेटौँडा पुग्नुभएका प्राविधिक राजप्रसाद अमात्यले सुरुमा उद्योगको अवस्था देख्दा भावुक भएको बताउनुभयो।
“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो,” उहाँले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ।”
हाल उद्योगका १० वटा तानबाट कपडा उत्पादन भइरहेको छ।तीमध्ये तीन वटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। पुराना मेसिनमा नयाँ प्रविधि जडान गरेपछि उत्पादनसमेत उल्लेख्य रूपमा बढेको प्राविधिकहरूले बताएका छन्।
प्राविधिक रमेशबहादुर भट्टराईका अनुसार पहिले एउटा तानबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाएपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन हुन थालेको छ।
दाङको तुलसीपुरमा साडी उत्पादनसम्बन्धी काम गर्दै आउनुभएका भट्टराईलाई मेसिन मर्मतका लागि हेटौँडा बोलाइएको थियो।उहाँसहितको टोलीले सुरुमा मेसिनको अवस्था अध्ययन गरी आवश्यक सुधारबारे परामर्श गरेपछि पुराना तानका पार्टपुर्जा परिवर्तन गर्दै स्वचालित प्रणालीमा रूपान्तरण गर्ने काम थालेको हो।
लामो समय प्रयोगविहीन हुँदा मेसिनमा रहेका छाला र काठका सामग्री नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले बताउनुभयो। उहाँले देशको सेवा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै बिग्रिएका पार्टपुर्जा परिवर्तन गरेर मेसिनलाई पुनः सञ्चालनमा ल्याउन सकिने बताउनुभयो।
पुराना ‘सटल तान’का केही पार्टपुर्जा पाउन कठिन भए पनि तिनलाई आधुनिक र्यापियर प्रविधिमा रूपान्तरण गरी बिना सटल स्वचालित रूपमा सञ्चालन गर्न सकिने प्राविधिक अमात्यले बताउनुभयो। आवश्यक सामग्री काठमाडौँ र ललितपुरका आपूर्तिकर्तामार्फत चीन तथा ताइवानबाट ल्याउन सकिने उहाँको भनाइ छ।
स्वचालित तान सञ्चालन भएपछि कम जनशक्तिबाट बढी उत्पादन गर्न सकिनेछ। उद्योगबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडाका साथै निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न प्रकारका कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ।
सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली र मेसिन मर्मतको जिम्मेवारी दिइएको हो। परीक्षण उत्पादनका लागि ३३ लाख रुपैयाँ उपलब्ध गराइएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गर्दै परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिनुभएको छ। उहाँका अनुसार २० वटा तान सञ्चालनका लागि तयार पारिएकोमा हाल १० वटा सञ्चालनमा आइसकेका छन् र बाँकी मेसिनलाई पनि क्रमशः सञ्चालनमा ल्याइनेछ।
परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी रिलायन्स उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो।स्वदेशमै कच्चा पदार्थ उत्पादनका लागि कृषकलाई कपासखेती गर्न आग्रह गरिएको र कृषकले उत्पादन गरेको कपास खरिद गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उक्त उद्योगको सोही वर्ष पुसमा शिलान्यास भएको थियो। विसं २०३५ कात्तिकदेखि परीक्षण उत्पादन थालेको उद्योगको विसं २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो।
पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले करिब एक हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो। तर राजनीतिक हस्तक्षेप, बारम्बारका बन्द–हडताल, व्यवस्थापकीय कमजोरी, पुरानो प्रविधि र बढ्दो आर्थिक घाटाका कारण उद्योग सङ्कटमा पर्दै गएको थियो। अन्ततः विसं २०५७ देखि उद्योग पूर्ण रूपमा बन्द रह्यो। अब साढे दुई दशकपछि पुराना तानबाट फेरि कपडा निस्कन थालेसँगै हेटौँडा कपडा उद्योगको पुनर्जीवनको आशा पलाएको छ। यद्यपि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप लगानी, पर्याप्त कच्चापदार्थ, बजार व्यवस्थापन र दिगो व्यवस्थापकीय क्षमता आवश्यक पर्ने देखिन्छ।
पुराना मेसिनका पार्टपुर्जा फेरेर तिनलाई पुनः चलाउन सकिएझैँ अब बन्द उद्योगलाई दीर्घकालसम्म चलाइराख्ने चुनौती सरकारको निरन्तरता र प्रभावकारी व्यवस्थापनमा निर्भर रहनेछ।

