टोखा–छहरे सडकमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन



नुवाकोट,भदौ ७— पछिल्ला दिनमा भइरहेको वर्षासँगै नुवाकोटका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरोधका घटना बढिरहेका बेला टोखा–छहरे सडकखण्डमा खसेको पहिरो आंशिक रूपमा हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

छहरे–टोखा सडकअन्तर्गत शिवपुरी गाउँपालिका–७ चापाबोटमा आइतबार बिहान रुखसहितको सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाएर हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ।

सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको र त्यसका लागि सडक डिभिजन कार्यालय नुवाकोटसँग आवश्यक समन्वय भइरहेको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक इन्चार्ज विनोद ढकालले जानकारी दिनुभयो।

पहिरो हटाउने तथा सडकलाई सुरक्षित बनाउने काम जारी रहेकाले पूर्ण रूपमा यातायात सञ्चालनमा आउन केही समय लाग्ने उहाँले बताउनुभयो।

पछिल्ला केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण नुवाकोटका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै यातायात सेवा प्रभावित हुँदै आएको छ। ग्रामीण तथा मुख्य सडकखण्डमा समेत पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण सडक अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिरहेकाले लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्