नुवाकोटमा मन्त्री तिमिल्सिनाको स्थलगत निरीक्षण, बाढीपहिरोले पञ्चकन्यामा मात्र १६ करोड बराबर क्षति
नुवाकोट,भदौ ७ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएपछि सूचना तथा सञ्चार मन्त्री एवं नुवाकोटका सांसद विक्रम तिमिल्सिना प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन्।
आइतबार मन्त्री तिमिल्सिना शिवपुरी हुँदै पञ्चकन्या गाउँपालिका–स्थित घलेभञ्जन पुगेका हुन्। प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका मन्त्री तिमिल्सिनासँगै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
यही भदौ ४ र ५ गते परेको अविरल वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले व्यापक क्षति पुर्याएको हो ।प्रारम्भिक विवरणअनुसार ६५ घरधुरी जोखिममा परेका छन्। तीमध्ये ११ घर पूर्ण रूपमा विस्थापित भएका छन् भने ३९ घर जोखिममा रहेका छन्। यस्तै, ११ घरको नजिकै पहिरो खसेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईका अनुसार बाढीपहिरोले सडक, खेलमैदान, विद्यालय, खानेपानीलगायतका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक क्षति विवरणअनुसार पञ्चकन्यामा मात्रै करिब १५ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
बाढीपहिरोबाट गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ सबैभन्दा बढी प्रभावित भएका छन्। वडा नम्बर १ र २ मा भने तुलनात्मक रूपमा सामान्य क्षति भएको जनाइएको छ।
जोखिम बढेपछि विस्थापित भएका ११ घरपरिवारका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूको अस्थायी बसोबासका लागि अस्पताल तथा विद्यालयमा आवासको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो।
प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा स्थानीयले पहिरो नियन्त्रण, क्षतिग्रस्त सडक तथा खानेपानी संरचनाको तत्काल मर्मत र सुरक्षित बस्ती व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।
घलेभञ्ज्याङ् पुगेर क्षतिको अवस्था प्रत्यक्ष अवलोकन गरेका मन्त्री तिमिल्सिनाको भ्रमणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको कामले गति लिने अपेक्षा स्थानीयले गरेका छन्।

