पीडितको पहिचान सार्वजनिक नगर्न सांसद डा. बिक्रम तिमिल्सिनाको आग्रह



काठमाडौं,भदौ ७— नुवाकोटका सांसद एवं सूचना तथा सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाजस्ता गम्भीर अपराधका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री सार्वजनिक नगर्न सबैसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद तिमिल्सिनाले पीडितको पहिचान र गोपनीयताको सम्मान गर्नुपर्ने उल्लेख गर्दै अपराधमाथि अर्को अपराध नगर्न आग्रह गरेका हुन। उनले यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने सामग्री प्रकाशन तथा प्रसारण गर्नु अत्यन्त संवेदनशील विषय मात्र नभई गम्भीर गैरकानुनी कसुरसमेत भएको बताएका छन्। विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर अपराध भएको उनको भनाइ छ।

समाचार तथा अन्य सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्। यस्तो विषय नेपालको कानुनी व्यवस्था, पत्रकारिता आचारसंहिता, अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यता तथा जिम्मेवार पत्रकारिताको सिद्धान्तसँग समेत जोडिएको उनले उल्लेख गरेका छन्।

सांसद तिमिल्सिनाले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण तथा पुनःप्रसारण नगर्न आग्रह गरेका छन्। यसअघि प्रकाशित भइसकेका यस्ता सामग्रीसमेत तत्काल हटाउनुपर्ने उनको भनाइ छ।

“अपराधको समाचार सार्वजनिक गर्नु आवश्यक छ, तर अपराधको रिपोर्टिङ गर्दा पीडितको अधिकार, गरिमा र गोपनीयताको मूल्य बिर्सनु हुँदैन,” उनले भनेका छन्।

पीडितको पहिचान नखुलाउनु कानुनी दायित्व मात्र नभई सामाजिक जिम्मेवारी, मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धता भएको सांसद तिमिल्सिनाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्