विदेशको पसिना स्वदेशमा बगाउँदा लक्ष्मीमार्ग बन्यो ‘सुकुटी बजार’



मोरङ,भदौ ७ — कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाहरू अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्। वैदेशिक रोजगारीको आकर्षक कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले लक्ष्मीमार्गको पहिचान नै फेरिएको छ।

अहिले यो क्षेत्र ‘सुकुटी बजार’का रूपमा परिचित हुन थालेको छ।कतारमा छ वर्ष बिताएर स्वदेश फर्किएका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यसको उदाहरण हुन्। सुरुआती दिनमा महिनामा २० देखि ३० किलो सुकुटी बिक्री गर्नसमेत कठिनाइ हुने प्रेमको पसलबाट अहिले मासिक सयौँ किलो सुकुटी बिक्री हुन थालेको छ।

प्रतिकिलो दुई हजार ७०० रुपैयाँमा बिक्री हुने सुकुटीबाट मासिक दुई लाख रुपैयाँसम्म आम्दानी भइरहेको प्रेम श्रेष्ठ बताउनुहुन्छ। उहाँले बेलबारी, हरैचालगायत स्थानीय बजारबाट प्रतिकिलो ७०० रुपैयाँमा राँगाको आलो मासु खरिद गरी सुकुटी बनाउने गर्नुभएको छ। आलो मासुको बढीमा एक चौथाइसम्म मात्र सुकुटी बन्ने उहाँको भनाइ छ।

प्रेम र दिलीप मात्र होइन, वैदेशिक रोजगारीबाट फर्किएका अन्य युवासमेत यस व्यवसायमा आकर्षित भएका छन्। वैदेशिक रोजगारीबाट फर्केर विगत ११ वर्षदेखि सुकुटी व्यवसायमा जमेका शोभितमान श्रेष्ठ आफ्नै घरमा परिवारसँग बसेर काम गर्न पाउँदा विदेशको कमाइभन्दा बढी सन्तुष्टि मिलेको बताउनुहुन्छ।

“विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ,” उहाँले भन्नुभयो। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने प्रमुख थलो बनेको छ। विराटनगर निवासी सेन्जम फुयाँलका अनुसार यात्राका क्रममा लक्ष्मीमार्ग पुग्ने धेरै यात्रु सुकुटीको स्वाद लिन यहाँ रोकिने गर्छन्।

स्थानीय बजारमा मात्र सीमित नरहेको यहाँको सुकुटीको माग अहिले बेलायत र अमेरिकामा रहेका नेपाली समुदायसम्म पुगेको व्यवसायी दिलीप श्रेष्ठ बताउनुहुन्छ। कोसेलीका रूपमा विदेशबाट समेत माग आउने गरे पनि परम्परागत उत्पादन शैली र आवश्यक जनशक्तिको अभावका कारण मागअनुसार उत्पादन पुर्‍याउन कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।

वैदेशिक रोजगारीमा बगाउने पसिना र समय आफ्नै माटोमा लगानी गर्न सके स्थानीय परिकारलाई पनि सफल व्यवसायका साथै अन्तर्राष्ट्रिय पहिचान दिलाउन सकिने प्रेम श्रेष्ठको विश्वास छ।लक्ष्मीमार्गका यी युवाहरूको सफलता अहिले स्वदेशमै अवसर खोजिरहेका युवाका लागि उदाहरण बनेको छ—विदेशको कमाइ मात्र होइन, आफ्नै माटोको सम्भावनालाई चिन्न सके परम्परागत स्वादसमेत सफल व्यवसायको आधार बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्