हाइड्रोपावरको जालीमा भेटिएको महिलाको शवको तस्वीर सार्वजनिक



मकवानपुर,भदौ ७— मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपास्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा फेला परेको अज्ञात महिलाको शवको अझै सनाखत हुन सकेको छैन।

आइतबार बिहान करिब ७ः३० बजे बागमती खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ देखि ४० वर्षीया महिलाको शव हाइड्रोपावरको पानी छान्ने जालीमा फेला परेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक तथा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान तथा शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखेको छ।

हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शव पहिचानका लागि प्रहरीले मृतकको हुलिया तथा तस्वीरसमेत सार्वजनिक गरेको छ।प्रहरीका अनुसार मृतक महिलाको उचाइ करिब ५ फिट ३ इन्च, शरीर ठिक्कको मोटो र लामो कालो कपाल रहेको छ। उनले कलेजी रङको ब्रा लगाएकी थिइन्।

मृतक महिलाबारे जानकारी हुने वा आफन्तजनले पहिचान गर्न सक्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गरी शव सनाखत गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्