मिनी ट्रकको ठक्करबाट बस पल्टियो, १२ यात्रु घाइते



बर्दिया,भदौ ७ । बर्दियाको बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिँदा बस पल्टिएको छ भने १२ जना यात्रु घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मिनी ट्रकले यात्रु झार्नका लागि रोकिएको बसलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि बस सडकबाट करिब पाँचदेखि छ मिटर दक्षिणतर्फ पल्टिएको थियो।

दुर्घटनामा घाइतेमध्ये बारबर्दिया नगरपालिका–१ निवासी अन्दाजी ४२ वर्षीया पवित्रा थापाको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेमध्ये केहीको अवस्था मध्यम तथा अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा विवेक थारु, रुपनी थारु, कमल थारु, नन्दकली दमाई, भविसरा थापा बुढा, एक महिनाका निराजन बुढा, दुई वर्षीया हनसिखा बुढा, उमिता थारु, पार्वती चौधरी, चित्रबहादुर थारु र विपत्ति थारु रहेका छन्।

घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गको यातायात सञ्चालनमा अवरोध नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्