नुवाकोटको पहिरो प्रभावित बस्तीहरुमा सञ्चारमन्त्री तिमिल्सिनाको स्थलगत निरीक्षण
नुवाकोट,भदौ ८— सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट प्रभावित बस्तीको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ।
नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा पुगेर भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले पहिरो प्रभावित बस्तीका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूको अवस्था, समस्या र तत्काल आवश्यकताबारे जानकारी लिनुभयो। प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए।
सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो। उहाँले तत्काल राहत तथा व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।
“प्रभावित क्षेत्रमा स्थानीय प्रशासनमार्फत उद्धार, राहत र व्यवस्थापन लगायतका कामको जानकारी लिएका छौं। पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरेर बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्न पहल हुनेछ,” उहाँले भन्नुभयो।
जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने उहाँले बताउनुभयो।
स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सञ्चारमन्त्री तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराउनुभएको थियो।
भदौ ४ गते राति परेको अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ। पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्केर बस्न सक्ने अवस्था नरहेको बताउँदै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो। प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उहाँको भनाइ थियो।
निरीक्षणका क्रममा तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीको तत्कालीन आवश्यकताबारे समेत जानकारी लिनुभएको छ।

