पूजा सामग्रीसहित बडीमालिका प्रस्थान गर्‍यो बाजुराको सरकारी टोली



बाजुरा, भदौ ८ — धार्मिक तथा पर्यटकीय धरोहरका रूपमा परिचित बडीमालिकामा मुख्य पूजाको तयारीका लागि बाजुराको सरकारी टोली पूजा सामग्रीसहित प्रस्थान गरेको छ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सरकारी टोली बडीमालिकातर्फ लागेको हो। सुरक्षाकर्मीको सलामी, बाजागाजासहित फूलमालाले सजाइएको जमराको टोकरी शिरमा राखेका पञ्चकन्या तथा महिलाले टोलीलाई बिदाइ गरेका थिए।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

देशका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत सयौँ तीर्थयात्री केही दिनअघिदेखि नै बडीमालिका र बुढीनन्दातर्फ जान थाले पनि औपचारिक यात्रा भने आजबाट सुरु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार प्रहरी प्रमुखको नेतृत्वमा टोली प्रस्थान गरेकाले बडीमालिका क्षेत्रमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ। बुढीनन्दातर्फ भने जिल्लाको सरकारी टोली आइतबार नै प्रस्थान गरिसकेको छ।

धार्मिक मान्यताअनुसार बडीमालिका र बुढीनन्दा दुवै शक्तिपीठको यात्रा मुख्य पूजाभन्दा तीन दिनअघि सुरु गर्नुपर्ने परम्परा छ।सरकारी टोली बडीमालिका प्रस्थान गरेको अवसरमा बडीमालिका नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।

नगरप्रमुख खड्काका अनुसार टोलीले पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गर्दछ। बडीमालिका, बुढीनन्दासहित जिल्लाका एक दर्जनभन्दा बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा रहेको छ। आफ्ना मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनले ती शक्तिपीठमा पूजापाठ गर्ने गर्दछन्।

जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ भने बडीमालिका मन्दिर करिब चार हजार २०० मिटर उचाइमा रहेको छ।

धार्मिक विश्वासअनुसार सत्ययुगमा भगवान् शिवले सतीदेवीको शरीर संसारभर घुमाउने क्रममा विभिन्न स्थानमा शरीरका अङ्ग खसेका थिए। सोही धार्मिक विश्वासका आधारमा बडीमालिकालाई शक्तिपीठका रूपमा पूजाआजा गर्ने गरिएको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताउनुभयो।

बडीमालिका क्षेत्रमा २२ वटा आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल रहेका छन्। धार्मिक पूजाआराधनासँगै प्राकृतिक तथा पर्यटकीय दृश्यावलोकनका लागि समेत तीर्थयात्रीहरू बडीमालिका पुग्ने गरेका छन्।

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले प्रत्येक वर्ष श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गरेको पुजारी नेत्रप्रसाद पाध्यायले बताउनुभयो। बडीमालिका पूजाका लागि डोटी, जुम्ला, कालिकोट तथा कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली यसअघि नै प्रस्थान गरिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको जनाएको छ।

बडीमालिका र बुढीनन्दालाई दिदीबहिनीका रूपमा धार्मिक विश्वास गरिन्छ। यी दुवै शक्तिपीठमा मुख्य पूजा भदौ ११ गते हुने जनाइएको छ। भक्तजनको चाप बढ्दै गएपछि एकैदिन सबैको पूजा सम्भव नहुने भएकाले भदौ १ गतेदेखि नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो।

यस वर्ष बडीमालिका दर्शनका लागि आउने भक्तजनको सङ्ख्या विगतका वर्षभन्दा बढ्ने अनुमान गरिएको छ। तीर्थयात्रीको सुविधाका लागि यसपटक बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमको चौथो पुस्ताको टावर जडान गर्ने कामसमेत भइरहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’का रूपमा उल्लेख गरेपछि यस क्षेत्रको चर्चा थप बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्