परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने



काठमाडौं,भदौ ८ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने हुनुभएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँ असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो। बेलग्रेडमा भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरण सभाको आयोजना हुँदैछ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। त्यसको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष उच्चस्तरीय स्मरण सभा आयोजना गर्न लागिएको हो।कार्यक्रममा विश्वका विभिन्न देशका नेता, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ। असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले समेत प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य विभिन्न बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्