बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट, सञ्चार मन्त्रीद्वारा भर्चुअल उद्घाटन
काठमाडौँ,भदौ ८ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि बडीमालिका क्षेत्रमा सञ्चार सेवा सञ्चालनमा आएको हो।
जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि स्थानीयवासी, तीर्थयात्री तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ। समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा यसअघि सञ्चार सम्पर्कको समस्या रहेको थियो।
सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएपछि फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम भूगोलका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले टावर स्थापना र सेवा सञ्चालनका लागि खटिएका नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा समन्वय गर्ने बडीमालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो।
सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गर्दै सेवा सञ्चालनको अवस्था र कामका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिनुभएको थियो।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्याउनु संस्थाको प्राथमिकतामा रहेको बताउनुभयो। सेवा विस्तारसँगै यसको गुणस्तर सुधारमा समेत काम भइरहेको उहाँको भनाइ छ।
एक महिनाको प्रयासपछि टावर सञ्चालन
बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर प्रयास गरिरहेका थिए। सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो।
बडीमालिका मन्दिर क्षेत्र करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ भने करिब चार हजार दुई सय ३० मिटर उचाइको लौरी विनायक क्षेत्रमा टावर स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ।
टावर सञ्चालनमा आएपछि बडीमालिका मन्दिर, आसपासका विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री र पर्यटकले मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ। यसले सुरक्षा तथा उद्धार कार्यमा समेत सहयोग पुग्ने जनाइएको छ।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउँदै दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ। यसै योजनाअन्तर्गत जुम्लाको हाट सिञ्जा क्षेत्रमा पनि भदौ ५ गतेदेखि फोर–जी सेवा सञ्चालनमा आएको छ। त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ।
नेपाल टेलिकमका अनुसार डोल्पाको लहान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलाजस्ता उच्च हिमाली क्षेत्रमा पनि फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।
हाल देशभर सञ्चार सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने उद्देश्यले करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ।

