अटो र स्कुल बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो



उदयपुर,भदौ ८ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने दुई जना घाइते भएका छन्।

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

उपचारका क्रममा बेलका नगरपालिका–५ मैनी निवासी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ती अज्ञात महिलाको नाम, उमेर र ठेगाना खुल्न बाँकी रहेको छ। दुवै जनाको बिहान ११ः४५ बजे मृत्यु घोषणा गरिएको थियो।

यस्तै, अटो चालक बेलका नगरपालिका–५ मैनी निवासी २८ वर्षीय इन्द्र थापा मगरको पनि उपचारकै क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको छ। दुर्घटनामा बेलका नगरपालिका–५ मैनी निवासी १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् भने मोरङको विराटनगर महानगरपालिका–१२ निवासी १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ। बस र बस चालक बेलका नगरपालिका–५ घुम्ने निवासी करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्