विदुर–२ मा बुधबारदेखि कृषि उपज हाटबजार सञ्चालनको तयारी
विदुर,भदौ ८। विदुर नगरपालिकाले कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यले हरेक बुधबार विदुर नगरपालिका–२ स्थित वडा कार्यालय परिसरमा कृषि उपज हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिको वडा कार्यालय परिसरमा हाटबजार सञ्चालनका लागि नगरप्रमुख राजन श्रेष्ठले स्थल चयन, स्टल व्यवस्थापनलगायत आवश्यक तयारीका विषयमा निर्देशन दिनुभएको हो ।
नगरपालिकाले यसअघि प्रत्येक शनिबार विदुर–९ स्थित वडा कार्यालय परिसर तथा प्रत्येक आइतबार विदुर–४ स्थित हावाघरमा हाटबजार सञ्चालन गर्दै आएको छ। ती हाटबजार प्रभावकारी बन्दै गएपछि नगरपालिकाले थप स्थानमा पनि हाटबजार विस्तार गर्ने तयारी गरेको हो।
हाटबजार सञ्चालन भएपछि स्थानीय किसान तथा उत्पादकले कृषि उपज, हस्तकला एवं घरेलु उत्पादनका सामग्री प्रत्यक्ष रूपमा ग्राहकसम्म पुर्याएर बिक्री गर्न सक्नेछन्। यसबाट उत्पादक र उपभोक्ता दुवै पक्षलाई आर्थिक रूपमा सहज हुनुका साथै समयको बचत र सहुलियत मूल्यमा गुणस्तरीय सामग्री खरिद गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले आगामी बुधबारदेखि विदुर–२ को वडा कार्यालय परिसरमा नियमित रूपमा हाटबजार सञ्चालन गर्ने जनाएको छ।

