नुवाकोट पञ्चकन्याकी सिर्जना तीन दिनदेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीको अपिल
नुवाकोट,भदौ ८। मोबाइलको कभर फेर्न भन्दै घरबाट छहरे बजारतर्फ निस्किएकी पञ्चकन्या गाउँपालिका–५, भेडाबारीकी १९ वर्षीया सिर्जना गिरी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ।
सम्पर्कविहीन सिर्जनाका बुबा श्याम गिरीका अनुसार उनी भदौ ६ गते शनिबार मध्याह्न करिब १२ बजे मोबाइलको कभर फेर्न भन्दै घरबाट छहरे बजार गएकी थिइन्। तर बजार जान घरबाट निस्केकी सिर्जना त्यसयता न घर फर्किएकी छन्, न त परिवारको सम्पर्कमै आएकी छन्।
छोरी निर्धारित समयमा घर नफर्किएपछि परिवारले आफन्त, इष्टमित्र र चिनजानका विभिन्न व्यक्तिमार्फत खोजतलास थालेको थियो। सम्भावित स्थानहरूमा खोजी गर्दा समेत उनको कुनै जानकारी नपाइएपछि परिवार अहिले सर्वसाधारणसँग सहयोगको अपिल गर्न बाध्य भएको छ।
गाउँकै सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेकी सिर्जनाको खोजीका लागि उनकी आमा सीता गिरीले सबैसँग आग्रह गरेकी छन्। तीन दिनदेखि छोरीको कुनै खबर नआउँदा परिवार थप चिन्तित बनेको उनले बताइन् ।
परिवारका अनुसार सिर्जना गिरीको उचाइ अन्दाजी पाँच फिट, तौल करिब ४५ किलो र वर्ण गहुँगोरो छ। उनको देब्रे आँखामा तथा ओठमाथि खत विशेष चिन्हका रूपमा रहेको बताइएको छ। घरबाट निस्कँदा उनले सेतो टिसर्ट, कालो जिन्सको पाइन्ट र सेतो जुत्ता लगाएकी थिइन्।
कसैले सृजना गिरीलाई कहींकतै देख्नुभएको वा फेला पार्नुभएको भए तत्काल उनकी आमा सीता गिरीको सम्पर्क नम्बर ९८६४३९०२९२ मा सम्पर्क गर्न अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन परिवारले हार्दिक अनुरोध गरेको छ।
परिवारले हराएकी सिर्जनाको खोजीमा सबैको सहयोग आवश्यक रहेको भन्दै यो सूचना सकेसम्म धेरै मानिससम्म पुर्याउन र सामाजिक सञ्जालमार्फत शेयर गरिदिनसमेत अपिल गरेको छ।

