गाउँको सेवा काठमाडौँमै पाएपछि हर्षित शिवपुरीका ज्येष्ठ नागरिक



नुवाकोट,भदौ ९ । शिवपुरी गाउँपालिका–८ ले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना स्थायी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तासम्बन्धी सेवा काठमाडौँमै उपलब्ध गराएपछि उनीहरू हर्षित भएका छन्।

वर्षात्को समयमा गाउँसम्म पुग्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले काठमाडौँको बसुन्धरामा दुई दिनसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक सेवा उपलब्ध गराएको हो।

शिवपुरी–८ थानापति सिलवालथोकका ८४ वर्षीय टङ्कप्रसाद सिलवालले सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि गाउँ जानुपर्ने बाध्यता हटेपछि ठूलो राहत मिलेको बताउनुभयो। “वर्षात्को समयमा गाउँ जान समस्या हुन्थ्यो। वडा नै यहाँ आएर सेवा दिँदा झन्झट अन्त्य भएको छ,” उहाँले भन्नुभयो।

त्यस्तै, शिवपुरी–८ सत्तरी घरका ७२ वर्षीय रमेशप्रसाद कँडेलले पनि गाउँ जाने योजना बनाइरहेका बेला काठमाडौँमै सेवा पाउँदा खुसी लागेको बताउनुभयो।

शिवपुरी–८ काफ्लडाँडाकी ७४ वर्षीया शिलादेवी थपलियाले गाउँको सेवा काठमाडौँबाटै पाउँदा यात्राको समस्या समाधान भएको बताउनुभयो। उहाँले छोरासँग नुवाकोट जाने योजना बनाएको भए पनि वडाध्यक्षले काठमाडौँमै सेवा उपलब्ध गराउने जानकारी दिएपछि सहज भएको बताउनुभयो।

उल्लेखित ज्येष्ठ नागरिक प्रतिनिधिपात्र मात्र हुन्। चार सयभन्दा बढी ज्येष्ठ नागरिक रहेको शिवपुरी गाउँपालिका–८ मा हाल एक सय ५० भन्दा बढी काठमाडौँमा बसोबास गर्दै आएका छन्।

वडाध्यक्ष केशवप्रसाद रिजालले बर्खाको समयमा सडकको कठिनाइ तथा अन्य कारणले ज्येष्ठ नागरिकलाई गाउँसम्म पुग्न समस्या हुने भएकाले काठमाडौँमै सेवा दिने व्यवस्था मिलाइएको बताउनुभयो।

“नागरिकलाई सहज रूपमा सेवा दिनु स्थानीय सरकारको मुख्य उद्देश्य हो। उहाँहरूलाई गाउँसम्म पुग्न सास्ती नहोस् भनेर काठमाडौँमै बसेर सेवा दिइरहेका छौँ,” उहाँले भन्नुभयो।

वडाध्यक्ष रिजालका अनुसार काठमाडौँमा बसोबास गर्ने शिवपुरी–८ का ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बसुन्धरामा दुई दिन सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक सेवा प्रदान गरिएको हो।गाउँपालिकाको यो पहलले ज्येष्ठ नागरिकलाई लामो र कठिन यात्रा नगरी आवश्यक सरकारी सेवा आफ्नै बसोबास क्षेत्रबाट लिन सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्