आज किरण थापामगरको अग्निपरीक्षा : सत्ता जोगाउन ५३ मतको चुनौती



काठमाडौं, भदौ ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर आज विश्वासको मत लिने निर्णायक परीक्षामा उत्रँदै छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बोलाइएको छ।

यसअघि हिजोका लागि बोलाइएको बैठक पटक–पटक समय परिवर्तन गरिए पनि दलहरूबीचको आन्तरिक किचलो र आवश्यक राजनीतिक वातावरण नबन्दा विश्वासको मतको प्रक्रिया अघि बढ्न सकेन।

सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टि, सांसदहरूको सम्भावित अनुपस्थिति, राप्रपाभित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध गर्ने चेतावनीका कारण मुख्यमन्त्री थापामगरको विश्वासको मत अनिश्चित बनेको छ।

मुख्यमन्त्री थापामगरले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात् कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, सत्तासाझेदार दल नेकपाका सात जना सांसद अनुपस्थित रहने संकेत देखिएपछि आवश्यक मत जुटाउने चुनौती थपिएको छ।

यता राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा निवेदन दर्ता गराएकी छन्। अदालतले कारण देखाऊ आदेश जारी गर्दै भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

यस परिस्थितिमा आज मुख्यमन्त्री थापामगरले विश्वासको मत प्राप्त गरेर सत्ता जोगाउने वा राजनीतिक विवादका कारण नयाँ मोड आउने भन्ने विषय चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्