नुवाकोट दुप्चेश्वरको खुकुरीसहितको झैझगडाको भाइरल भिडियोको वास्तविकता यस्तो
नुवाकोट, भदौ ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ मा दुई स्थानीय व्यापारीबीच भएको झैझगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले स्थानीयस्तरमा चर्चा पाएको छ। हातमा खुकुरी बोकेर एक व्यक्ति झैझगडामा उत्रिएको ४६ सेकेन्डको दृश्य समेटिएको भिडियोबारे विभिन्न टिप्पणी भइरहेका छन्।
प्रहरीका अनुसार उक्त घटना यही भदौ ६ गते दिउँसो करिब २ बजे दुप्चेश्वर महादेव मन्दिर नजिकै रहेको पुल छेवैमा भएको हो। घ्याङ्फेँदीका स्थानीय होटल सञ्चालक काजी शेर्पा र अर्का स्थानीय व्यापारी अर्जुन तामाङबीच सामान्य भनाभनबाट विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको सुरुआत भने व्यक्तिगत विषयलाई लिएर भएको बताइएको छ। काजी शेर्पाको होटलमा काम गर्ने एक युवतीसँग काजीको निकटता बढेको विषय उनकी श्रीमतीलाई लगाइएको भन्दै काजी आक्रोशित भएपछि भनाभन चर्किएको प्रहरीको भनाइ छ। सामान्य विवादले केहीबेरमै उग्र रूप लिएको थियो।
झैझगडाकै क्रममा केही व्यक्तिले काजीमाथि आक्रमण गरेको र उनको टाउकोमा सामान्य चोट लागेको बताइएको छ। त्यसपछि आफूलाई प्रतिरक्षा गर्न खुकुरी निकालेको काजीले स्वीकार गरेका छन्।
घटनापछि वडा सदस्यसमेत रहेका जीतमान तामाङले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएका थिए। उजुरी परेपछि प्रहरीले भदौ ७ गते नै झैझगडामा खुकुरी लिएर उत्रिएका काजी शेर्पालाई पक्राउ गरेको समुद्रटार प्रहरीले जनाएको छ।
घटनाको भिडियो भने भदौ ८ गते वडा सदस्य तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि व्यापक रूपमा फैलिएको थियोे । भिडियो लाखौंले हेरेसँगै घटनाबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले झैझगडा कसरी सुरु भयो, घटनामा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन र खुकुरी प्रयोग गर्ने अवस्थासम्म विवाद कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

