सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ: सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौं,भदौ ९ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । उहाँले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा काठमाडौँमा जारी एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी)को २४औँ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभएको हो ।
उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताउनुभयो । गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उहाँले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । संकट, प्राकृतिक विपद्, सार्वजनिक स्वास्थ्य समस्या जस्तो अवस्थामा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । त्यस्तो अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चार माध्यमले योगदान पुर्याउने उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले अहिले सञ्चार क्षेत्रले सामना गरिरहेका धेरै चुनौती कुनै एक देशमा सीमित नरहेको उल्लेख गर्नुभयो । एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय हुने भएकाले देशहरूबिच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको उहाँले बताउनुभयो । विश्वभरका सञ्चार माध्यमले वित्तीय दिगोपना, बदलिँदो पाठक, दर्शक तथा श्रोताको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक सेवा प्रसारणका लागि चुनौती अझ गम्भीर रहेको बताउनुभयो । सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको उहाँको भनाइ थियो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी र स्ट्रिमिङ सेवाले सामग्री उत्पादनदेखि वितरण र दर्शकसँगको अन्तर्क्रियासम्म सञ्चारको सम्पूर्ण शृङ्खला परिवर्तन गरिरहेको बताउनुभयो । उहाँले यस्ता परिवर्तनलाई चुनौतीका रूपमा मात्र नभई ठूलो सम्भावनाका रूपमा पनि उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले डिजिटल प्लेटफर्ममार्फत युवा पुस्तासँग जोडिने नयाँ अवसर सिर्जना भएको उल्लेख गर्दै सार्वजनिक हितका सूचना, समाचार, शिक्षा तथा चेतनामूलक सामग्री युवाले प्रयोग गर्ने माध्यममा प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताउनुभयो ।
एआईको प्रयोगमा मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण, जबाफदेहिता र व्यावसायिक नैतिकतालाई प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो । एआईले सामग्री तयार गर्न सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने उहाँले स्पष्ट गर्नुभयो ।
कृत्रिम रूपमा सिर्जना गरिएका सामग्री र डीपफेक प्रविधिले झुटो सूचनालाई समेत वास्तविकजस्तो देखाउन सक्ने अवस्था सिर्जना भएकाले अहिले सञ्चार माध्यमका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकको विश्वास भएको उहाँले बताउनुभयो । प्रविधिको क्षमता र पत्रकारिताको विश्वसनीयतालाई सँगसँगै अघि बढाउन सक्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने उहाँको भनाइ थियो।
नेपाल दक्षिण एसियामा स्वतन्त्र सामुदायिक रेडियो स्थापना गर्ने पहिलो देश भएको र रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियोको यात्रा अहिले देशभर फैलिएको उहाँले बताउनुभयो । सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई समेत स्थान दिएको उहाँको भनाइ थियो । विपद्, संकट र स्वास्थ्य आपत्काल जस्ता समयमा सामुदायिक रेडियोले स्थानीय भाषामा तत्काल र विश्वसनीय सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । भूकम्प, बाढी, पहिरो तथा महामारीलगायतका सङ्कटमा सूचना, जनचेतना तथा उद्धार र राहतसम्बन्धी जानकारी पुर्याउन सामुदायिक रेडियो प्रभावकारी माध्यम बनेको उहाँले बताउनुभयो ।
डिजिटल रूपान्तरणको अर्थ नयाँ प्रविधि प्रयोग गर्नु मात्र नभई विश्वसनीयता, पत्रकारिताको व्यावसायिकता, तथ्य जाँच, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई बलियो बनाउनु पनि भएको सञ्चारमन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो । गलत सूचना, भ्रामक सामग्री र एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढिरहेका बेला सार्वजनिक सेवा प्रसारणले आफूलाई नागरिकले सही सूचना विश्वास गर्न सक्ने संस्थाका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो । युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सृजनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषी नागरिकलाई समान रूपमा समेट्नु सार्वजनिक सेवा प्रसारणको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो ।

