घाँस काट्दै गर्दा भालुको आक्रमण, नुवाकोट शिवपुरीका धनबहादुर गम्भीर घाइते
नुवाकोट, भदौ ९ । शिवपुरी गाउँपालिका–२, राल्पडाँडामा आफ्नै बारीमा घाँस र ढोड संकलन गरिरहेका एक स्थानीयमाथि जङ्गली भालुले एक्कासि आक्रमण गर्दा गम्भीर घाइते भएका छन्।
मंगलबार दिउँसो आफ्नै बारीमा घाँस काट्ने क्रममा स्थानीय धनबहादुर तामाङमाथि भालुले आक्रमण गरेको हो। सामान्य दिनझैँ बारीमा घाँस तथा ढोड संकलनमा व्यस्त रहेका तामाङले एक्कासि जङ्गली जनावरको सामना गर्नुपरेको स्थानीयले बताएका छन्।
भालुको आक्रमणबाट तामाङको टाउको तथा शरीरमा गम्भीर चोट लागेको छ। घाउचोट गहिरो भएपछि उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा लगिएको छ।
हाल उनको उपचार भइरहेको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने आसपासका क्षेत्रमा जङ्गली जनावरको आवतजावत बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयले आग्रह गरेका छन्।
शिवपुरीका ग्रामीण बस्ती आसपासका जंगल क्षेत्रमा घाँस, दाउरा तथा ढोड संकलन गर्न जाने स्थानीयहरूलाई विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

