ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात, आरोपी पक्राउ; कस्तो सजाय हुन्छ?



काठमाडौँ, साउन ९ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात भएको घटनाले सामाजिक सञ्जालमा व्यापक आलोचना र चर्चा पाएको छ।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन्। सोही क्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले हातपातमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँको बानेश्वर–१० मा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

ड्युटीमा खटिएका प्रहरी वा अन्य राष्ट्रसेवकमाथि हातपात गर्दै कर्तव्य पालनमा अवरोध पुर्‍याए कानुनी कारबाही हुने व्यवस्था रहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ८५ अनुसार आफ्नो पदीय कर्तव्य पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई जोरजुलुम, हूलहुज्जत वा अन्य कुनै किसिमले बाधा–विरोध गरी कर्तव्य पालनमा अवरोध पुर्‍याउन पाइँदैन।

यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।त्यस्तै, राष्ट्रसेवकले गैरकानुनी भेला रोक्ने, भङ्ग गर्ने वा हूलदङ्गा नियन्त्रण गर्ने क्रममा कर्तव्य निर्वाह गरिरहेको अवस्थामा बाधा वा विरोध गरे घटनाको प्रकृतिअनुसार संहिताको दफा ६६ समेत आकर्षित हुन सक्ने कानुनी व्यवस्था छ।

सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको अवस्थामा दफा ११८ अन्तर्गत समेत कारबाही हुन सक्छ। हातपातका क्रममा राष्ट्रसेवकलाई चोटपटक लागेको भए चोटको अवस्था र घटनाको प्रकृतिअनुसार अन्य थप कसुर तथा सजायसमेत आकर्षित हुन सक्ने व्यवस्था रहेको छ।

बानेश्वरको यो घटनापछि ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि हुने दुर्व्यवहार तथा कानुन उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ।

प्रतिक्रिया दिनुहोस्