ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् बक्यौता उठाउन र भ्याट फिर्ताको माग गर्दै नुवाकोटमा हस्ताक्षर अभियान
नुवाकोट, भदौ ९ । उज्यालो नेपाल पार्टीले ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् बक्यौता उठाउन तथा विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर फिर्ता गर्नुपर्ने मागसहित हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
पार्टीको आयोजनामा मंगलबार विदुरमा सम्पन्न अभियानमा पार्टी अध्यक्ष भाग्यश्री लामा, केन्द्रीय सदस्य देवकी पौडेल, बागमती प्रदेश सचिव श्यामराज पाठक, क्षेत्र नं. १ प्रदेश ‘ख’ अध्यक्ष रमेश लामा, पार्टी उपाध्यक्ष विजय लामा र रिता तामाङ, डा. सुदीप कोइराला, सहसचिव ऐशोधन तामाङ, कोषाध्यक्ष लक्ष्मी गजुरेल लगायत पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
अभियानमा सहभागीहरूले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोगबापतको विद्युत् बक्यौता प्रभावकारी रूपमा उठाउन र उपभोक्तामाथि लगाइएको मूल्य अभिवृद्धि कर फिर्ता गर्नुपर्ने माग गरेका छन्।
उक्त हस्ताक्षर अभियानलाई निरन्तरता दिँदै भोलि भदौ १० गते खरानीटारमा पनि कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ।

