अविरल वर्षापछि शिवपुरीमा क्षतिको विवरण संकलन गर्न प्राविधिक टोली परिचालन



नुवाकोट, भदौ १० । अविरल वर्षापछि बाढी तथा पहिरोबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्न शिवपुरी गाउँपालिकाले प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको छ।

भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत कल्लेरी, खनियाखर्क, सागिने, जेब्राङ र बुदेलगायतका क्षेत्रमा ठूलो पहिरो जाँदा विभिन्न भौतिक संरचना तथा पशुचौपायामा क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत खहरे खोलामा रहेको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसैगरी राउटे जंगल नजिकैको खोलामा रहेको पक्की पुलसमेत पूर्ण रूपमा क्षति भएको जनाइएको छ।

वास्तविक क्षतिको विवरण संकलन गर्नुका साथै सम्भावित जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाले पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर गोकुलदेव जोशीको संयोजकत्वमा प्राविधिक टोली गठन गरेको हो।

टोलीमा सब–इञ्जिनियर केदार प्याकुरेल, कृषि प्राविधिक सावित्री श्रेष्ठ, पशुसेवा प्राविधिक ओमशरण गुरुङ तथा वडा सचिव सिर्जना बोहरा सदस्य–सचिव रहेका छन्।

टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी भौतिक तथा भौगोलिक क्षति, सम्भावित जोखिम, कृषि तथा पशुजन्य क्षेत्रमा परेको असर र स्थानीयको दैनिक जीवनयापनमा पुगेको प्रभावलगायत विषयमा तथ्यांक संकलन गरेको छ।

शिवपुरी गाउँपालिकाले टोलीलाई तीन दिनभित्र क्षतिको यथार्थ र सत्यतथ्य विवरणसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको जनाएको छ। स्थलगत अनुगमनबाट प्राप्त विवरणका आधारमा आवश्यक राहत, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि थप पहल गर्न सहज हुने गाउँपालिकाको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्