आठौं एसजी सिनियर अन्तरविद्यालय फुटसलमा चार विद्यालयको उपाधि कब्जा



काठमाडौँ,भदौ १० । आठौं एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०२६ मा रातो बंगला स्कुल, जेम्स स्कुल, राई स्कुल र लोयल्टी एकेडेमीले विभिन्न विधातर्फ उपाधि जितेका छन्।

स्वोस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा भएको प्रतियोगितामा यु–११ छात्रतर्फ रातो बंगला स्कुल, यु–११ छात्रातर्फ जेम्स स्कुल, यु–१२ छात्रतर्फ राई स्कुल तथा यु–१४ छात्रतर्फ लोयल्टी एकेडेमी च्याम्पियन बनेका हुन्।

यु–११ छात्रतर्फको फाइनलमा रातो बंगला स्कुलले हिमशिखर स्कुललाई पराजित गर्दै उपाधि जित्यो भने रोजबड स्कुल तेस्रो भयो। यु–११ छात्रातर्फ जेम्स स्कुलले रातो बंगला स्कुललाई हराउँदै उपाधि हात पार्‍यो। आयोजक स्वोस्तिश्री गुरुकुल तेस्रो स्थानमा रह्यो।

यु–१२ छात्रतर्फ राई स्कुलले फाइनलमा आयोजक स्वोस्तिश्री गुरुकुललाई पराजित गर्दै च्याम्पियन बन्यो। कोहिनुर स्कुल तेस्रो भयो। यस्तै, यु–१४ छात्रतर्फ लोयल्टी एकेडेमीले फाइनलमा उज्ज्वल तारा स्कुललाई हराउँदै उपाधि जित्यो भने रोजबड स्कुल तेस्रो स्थानमा रह्यो।

व्यक्तिगत विधातर्फ यु–११ छात्रमा स्वोस्तिश्री गुरुकुलका आर्नव राज भारती उत्कृष्ट खेलाडी घोषित भए। रातो बंगला स्कुलका सुबान्श श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा सोही विद्यालयका निर्विग्न ढकाल सर्वाधिक गोलकर्ता बने।

यु–११ छात्रातर्फ पाठशाला नेपालकी सम्राज्ञी क्षेत्री उत्कृष्ट खेलाडी, स्वोस्तिश्री गुरुकुलकी श्रीम खरेल उत्कृष्ट गोलरक्षक तथा रातो बंगला स्कुलकी शिखा सुबेदी सर्वाधिक गोलकर्ता बनिन्। यु–१२ छात्रतर्फ राई स्कुलका योनातन राई उत्कृष्ट खेलाडी, स्वोस्तिश्री गुरुकुलका समीर बोहरा उत्कृष्ट गोलरक्षक तथा कोहिनुर स्कुलका प्रमिक मगर सर्वाधिक गोलकर्ता घोषित भए।

यु–१४ छात्रतर्फ उज्ज्वल तारा स्कुलका केशव काफ्ले उत्कृष्ट खेलाडी घोषित भए भने लोयल्टी एकेडेमीका समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक बने। रोजबड स्कुलका लक्ष्य श्रेष्ठ सर्वाधिक गोलकर्ता बने।

समापन कार्यक्रममा विद्यालयकी प्राचार्य नेहा के.सी.ले सहभागी विद्यालय तथा खेलाडीलाई बधाई दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, शिक्षक, रेफ्री, कर्मचारी तथा स्वयंसेवकलगायतलाई धन्यवाद दिइन्।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगरले विद्यालयस्तरका प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने बताइन्। उनले यस्ता प्रतियोगिताले नेपाली फुटबलको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

स्वोस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मीना महर्जनको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा अञ्जना राना मगर, एनएसएसएफका संस्थापक अध्यक्ष प्रदीप जोशी, उपाध्यक्ष तथा ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहन कार्की र राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शिव कोइराला ‘ज्वाला’लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्