पहिरोबाट विस्थापित १४ परिवारलाई पञ्चकन्याको राहत



नुवाकोट,भदौ १०। दुई दिनसम्म परेको अविरल तथा भीषण वर्षापछि आएको पहिरोका कारण विस्थापित भएका परिवारलाई नुवाकोटको पञ्चकन्या गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ।

पहिरोको जोखिममा परेका तथा गाउँपालिकाले पञ्चकन्या अस्पताल परिसरमा व्यवस्था गरेको अस्थायी बासस्थानमा बसोबास गरिरहेका १४ घरपरिवारलाई मंगलबार खाद्यान्न, पाललगायतका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो।

पहिलो चरणमा पूर्ण रूपमा विस्थापित भएका नौ परिवारसहित १४ घरपरिवारलाई गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’, उपाध्यक्ष विमला पाठक केसी, पञ्चकन्या गाउँपालिका–३ का वडाध्यक्ष रामबाबु पराजुली, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी तथा स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोलगायतले राहत सामग्री हस्तान्तरण गरेका हुन्।

गाउँपालिका अध्यक्ष तामाङले भदौ ४ र ५ गते परेको अविरल भीषण वर्षापछि विस्थापित भएका परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको बताए। उनले विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा स्थानीय सरकार रहेको बताउँदै बाँकी प्रभावित परिवारलाई समेत राहत वितरणको तयारी भइरहेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष विमला पाठक केसीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण पञ्चकन्या गाउँपालिका–४ मा दुई, वडा नम्बर ३ मा पाँच र वडा नम्बर ५ मा पाँच घरपरिवार प्रभावित भएका छन्।

पहिरोका कारण विस्थापित तथा जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा राखेर आवश्यक राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। प्रभावित क्षेत्रका अन्य परिवारको अवस्थासमेत मूल्याङ्कन गरी आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्