त्रिशूली अस्पतालमा मापसे जाँचका लागि आधुनिक प्रविधिको प्रयोग सुरु



नुवाकोट,भदौ १० । नुवाकोटको त्रिशूली अस्पतालले चिकित्सकीय ज्ञानसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्दै आकस्मिक विभागमा मादक पदार्थ सेवन जाँचका लागि उपकरणको प्रयोग सुरु गरेको छ।

विदुर नगरपालिका–९ स्थित अस्पतालको आकस्मिक विभागमा मादक पदार्थ सेवन गरेका व्यक्तिको पहिचान तथा स्वास्थ्य अवस्थाको मूल्याङ्कनलाई थप प्रभावकारी बनाउन चिकित्सकीय परीक्षणसँगै आधुनिक उपकरणको प्रयोग थालिएको अस्पतालले जनाएको छ।अस्पतालका निमित्त प्रमुख डा. राजेन्द्र लामाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिमा देखिन सक्ने विभिन्न शारीरिक तथा व्यवहारिक लक्षणको चिकित्सकीय मूल्याङ्कनसँगै उपकरणमार्फत श्वासप्रश्वासमा रहेको अल्कोहलको मात्रा जाँच गर्न सहज भएको छ।

यसअघि मापसेको अवस्थाबारे व्यक्तिमा देखिने लक्षण तथा चिकित्सकीय परीक्षणका आधारमा मूल्याङ्कन गरिँदै आएकोमा प्रविधिको प्रयोगपछि परीक्षण प्रक्रिया थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।

अस्पतालले यस प्रविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मापसेको अवस्था पहिचान र मूल्याङ्कन गर्न थप सहयोग पुग्ने जनाएको छ। साथै, आकस्मिक अवस्थामा आउने बिरामीको उपचार प्रक्रिया छिटो, व्यवस्थित र प्रभावकारी बनाउन समेत यसले मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्रिशूली अस्पतालमा आकस्मिक तथा बहिरङ्ग विभाग गरी दैनिक पाँच सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीको बढ्दो चापसँगै अस्पतालले स्वास्थ्य सेवामा चिकित्सकीय ज्ञानका साथै आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्