ब्रह्मकुमारी नुवाकोटको रक्तदान कार्यक्रममा ४९ युनिट रगत सङ्कलन



नुवाकोट,भदौ १०। विदुर नगरपालिका–४ बट्टारस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ४९ युनिट रगत सङ्कलन भएको छ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोगमा राजयोगिनी दादी प्रकाशमणिको १९ औँ पुण्यतिथिको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गरेका थिए। उद्घाटनका क्रममा नगरप्रमुख श्रेष्ठले स्वस्थ व्यक्तिले रक्तदान गर्दा शरीरलाई कुनै असर नपर्ने उल्लेख गर्दै रक्तदानले समाजमा सकारात्मक भावना र मानवीय सेवाको सन्देश फैलाउने बताए।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले यसअघि पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। गत वर्षसमेत केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विदुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रमबाट सङ्कलन भएको रगत आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्