वर्षापछि छहरे–पाटीभन्ज्याङ सडक पुनः अवरुद्ध
नुवाकोट । शिवपुरी गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गअन्तर्गत छहरे–पाटीभन्ज्याङ सडकखण्ड पुनः अवरुद्ध भएको छ। गएरातिको वर्षाले सडकमा थप क्षति पुर्याएपछि उक्त सडकखण्ड हुँदै पूर्वी भेगतर्फ आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्।
अविरल वर्षाका कारण राउटे जंगल नजिक रहेको पुल क्षतिग्रस्त भएको छ भने खहरे खोलाको पुलमा समेत क्षति पुगेको स्थानीयले नारायण पोखरेलले बताएका छन्। पुल तथा सडकमा क्षति पुगेपछि यातायात सञ्चालनमा थप समस्या उत्पन्न भएको छ।
यसअघि भदौ ४ र ५ गते परेको भीषण वर्षाले समेत उक्त सडकखण्डमा ठूलो क्षति पुर्याउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसको क्षति पूर्ण रूपमा पुनःस्थापना नहुँदै गएरातिको वर्षाले पुनः सडक र संरचनामा क्षति पुर्याएको हो।
सडक अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने स्थानीय तथा पूर्वी भेगका यात्रु प्रभावित भएका छन्। वर्षा जारी रहन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सजगता अपनाउन तथा आवश्यक सावधानी अपनाउन सम्बन्धित पक्षले आग्रह गरेका छन्।

