आज चार प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं, भदौ १० — देशका विभिन्न स्थानमा आज वर्षा हुने तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
यस्तै, राति कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। मधेस प्रदेशसहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको गतिविधि सक्रिय रहेको विभागले जनाएको छ।

