पैगम्बर मोहम्मदको १५०१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, भदौ १० । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई मानवजातिका लागि सन्देशवाहकका रूपमा सम्मान गर्ने गर्दछ। उहाँको जन्म साउदी अरबको मक्कामा भएको थियो भने पछि उहाँ मदिनामा जानुभएको थियो। उहाँको जीवन र उपदेशसँग जोडिएको इस्लाम धर्मको हिजरी संवत् हाल १४४८ मा चलिरहेको छ।
मुस्लिम समुदायका अनुसार मक्का र मदिना इस्लाम धर्मका अत्यन्त पवित्र तीर्थस्थल हुन्। पैगम्बर मोहम्मदले मानवता, शान्ति, सद्भाव र धार्मिक मूल्यका विषयमा दिएका उपदेशलाई आज पनि विशेष महत्वका साथ स्मरण गरिन्छ।
यस अवसरमा मुस्लिम समुदायले आज ¥याली, धार्मिक सभा तथा विशेष प्रार्थनालगायत कार्यक्रम आयोजना गरेका छन। काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
इस्लाम धर्ममा पैगम्बर मोहम्मदको महत्वपूर्ण योगदानको स्मरण गर्दै उहाँले दिएका शान्ति, सद्भाव र मानवताका सन्देशलाई आत्मसात् गर्ने उद्देश्यका साथ जन्मजयन्ती मनाइँदैछ।

