भोटेकोशी बाढीको असर : देशको १० प्रतिशत विद्युत् उत्पादन क्षमता प्रभावित



काठमाडौं,भदौ ११ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलन व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जानकारी दिनुभएको छ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन्। त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले बताउनुभयो।

बाढीले प्रसारण संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने २२० केभी, १३२ केभी र ६६ केभी क्षमताका प्रसारण लाइन तथा टावरमा पनि क्षति पुगेको छ।

बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भने विद्युत् सेवा आंशिक रूपमा प्रभावित भएको छ।

मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो।

उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने थप उद्धार तथा प्राविधिक टोली पनि खटाइएको छ।

वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने तथा सम्पर्कविहीन कर्मचारी र मजदुरको खोजी एवं उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले हाल मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्राविधिक मूल्याङ्कनको काम पनि जारी रहेको उहाँले जानकारी दिनुभयो।मन्त्री श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ, तर यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।”

प्रतिक्रिया दिनुहोस्