नेपाली सेनाद्वारा बाढी प्रभावितको उद्धार रातभर जारी
रसुवा, भदौ ११ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र खोजीका लागि नेपाली सेनाले रातभर अभियान जारी राखेको छ। प्रभावितको सङ्ख्या अत्यधिक रहेको र विभिन्न स्थानबाट उद्धारका लागि अपिल भइरहेका बेला सेनाले जमिन तथा हवाई माध्यमबाट उद्धार कार्यलाई तीव्र बनाएको हो।
नेपाली सेनाका अनुसार रातभर ११ वटा टोली परिचालन गरी जमिनी उद्धार तथा खोज कार्य जारी राखिएको छ। बिहीबार बिहानै टिमुरेमाथि रहेका ठुलो सङ्ख्याका प्रभावितलाई हवाईमार्फत उद्धार गर्ने तयारी गरिएको छ। विभिन्न सुरुङमा अड्किएका व्यक्तिको खोज तथा उद्धार प्रयास पनि निरन्तर जारी रहने सेनाले जनाएको छ।
उद्धारका लागि थप समन्वय गर्दै हवाई साधनको प्रभावकारी परिचालन, राहत सामग्री वितरण तथा मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्रीको ढुवानीमा समेत सहयोग गरिनेछ। सेनाले जमिनमा थप फौज तैनाथ गरी विस्तृत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने जनाएको छ। अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा स्थानीय जनतासँग समन्वय गरेर प्रभावितको उद्धारलाई निरन्तरता दिइनेछ।
सेनाका अनुसार बुधबार दिनभर एक हजार ६९७ जना फौज परिचालन गरिएको थियो भने थप ६५६ जना तयारी अवस्थामा राखिएका छन्। उद्धार तथा राहत अभियानका क्रममा छ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार गरिएको छ। त्यस्तै, पाँच वटा गैरसैनिक हेलिकप्टरबाट १२ जना र जमिनमार्फत २७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रमा ८०० केजी टेन्ट र २०० केजी चिकित्सकीय सामग्री समेत पुर्याइएको छ। उद्धारमा खटिएका हेलिकप्टरमार्फत प्रभावितलाई खाना तथा पानी पनि उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ।
भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवा र आसपासका क्षेत्रमा उद्धार, खोज तथा राहत अभियानलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको छ।

