भोटेकोशी बाढीबारे आज सर्वदलीय बैठक
काठमाडौं,भदौ ११ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज बिहीबार सर्वदलीय बैठक बस्दैछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। साथै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।
भोटेकोशी बाढीको विपत्तिपछि खोज, उद्धार, राहत र पुनःस्थापनामा साझा धारणा बनाउन राजनीतिक दलहरू एकै ठाउँमा जुट्न लागेका हुन्।

