भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन



रसुवा,भदौ ११ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ६२ जना नेपाली र ३४१ जना विदेशी पर्यटक रहेका छन्।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर गएका पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनीहरूमध्ये २०३ पुरुष र २०० महिला रहेका छन्।

सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतका १३३ जना रहेका छन्। त्यस्तै अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, संयुक्त अधिराज्य बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका सात जना तथा सिङ्गापुर र दक्षिण अफ्रिकाका छ–छ जना सम्पर्कविहीन छन्।

न्युजिल्याण्ड र जापानका पाँच–पाँच जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्डलगायत २५ भन्दा बढी देशका नागरिक बाढीको प्रभावमा परेर सम्पर्कविहीन भएका छन्।

भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक तथा पुलहरू समेत क्षतिग्रस्त भएका छन्।

नेपाल पर्यटन बोर्डले पर्यटकसम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परे टोलफ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्