रसुवा बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा,भदौ ११ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेकामध्ये हालसम्म १५७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले राति ११ बजेर ५ मिनेटसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाबाट १५७ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार रसुवामा ३ जना, नुवाकोटमा १३ जना, धादिङमा २७ जना, चितवनमा ६४ जना, गोरखामा १९ जना, तनहुँमा ९ जना र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।
बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि नेपाल प्रहरीले आफ्ना २८ जना कर्मचारी अझै सम्पर्कमा नआएको जनाएको छ।त्यस्तै, बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको विवरणमा उल्लेख छ।
तीमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।
विनाशकारी बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहँदा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

