भोटेकोशी बाढी : खोजी तथा उद्धार कार्य तीव्र



काठमाडौं,भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले आज बिहानैदेखि प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले हिजो राति नै खाद्यसामग्री, टेन्ट र औषधिलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरिएको छ। सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो।

आज बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र भोटेकोशी नदी तटीय क्षेत्रमा हेलिकोप्टर तथा पैदल टोलीलाई थप सक्रिय बनाइएको छ। फसेकाहरूको उद्धार र बेपत्ताहरूको खोजीलाई प्राथमिकता दिइएको सरकारले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण सरकारी संयन्त्रलाई राहत तथा उद्धारमा केन्द्रित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्