बाढी प्रभावित नुवाकोट निरीक्षणमा प्रधानमन्त्री शाह, विदुरतर्फ प्रस्थान
काठमाडौं,भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। उहाँसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री शाह र मन्त्री लम्सालको टोली आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेको हो।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रहरूमा व्यापक क्षति पुर्याएलगत्तै प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहँदै आउनुभएको छ। बाढीपछि उहाँले उच्चस्तरीय बैठकहरू आह्वान गर्दै मातहतका निकायलाई उद्धार, राहत र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिनुभएको थियो।
बाढीका कारण विभिन्न स्थानमा क्षति पुगे पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री तथा पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछ। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत वितरण, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताइएको छ।

