भोटेकोशी–त्रिशूली बाढीः १६५ शव फेला, सयौँ यात्रु बेपत्ता
रसुवा,भदौ ११ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा नौ, चितवनमा ६४ र नवलपरासी पश्चिममा पाँच जनाको शव फेला परेको हो।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, विभिन्न प्रहरीचौकीमा कार्यरत २८ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्।
यसैबीच, बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार गरिएका १२३ जनामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्राप्त प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन्।
बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल तथा करिब ४० किलोमिटर सडकमा समेत क्षति पुगेको प्रवक्ता महतले जानकारी दिनुभयो।
प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको जनाउँदै प्राधिकरणले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

