भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र



रसुवा,भदौ ११ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी तथा विस्थापितलाई राहत उपलब्ध गराउन सक्रिय रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।

नेपाली सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी गरी एक सय २० जनाको हवाई उद्धार गरेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि दुई हजार तीन सय ५० जना सैनिक परिचालन गरिएको प्रवक्ता बस्नेतले बताउनुभयो। प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धारसँगै हराइरहेका व्यक्तिको खोजी कार्यलाई पनि निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस्