भोटेकोशी बाढीको कहर : मृत्यु हुनेको संख्या १७७ पुग्यो
रसुवा,भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका, ७ बालक रहेका छन् भने ५० जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा दुई पुरुषको शव फेला परेको छ। नुवाकोटमा चार महिला, छ पुरुष र पहिचान नखुलेका दुई जनाको शव भेटिएको छ।
त्यस्तै, धादिङमा नौ महिला, ११ पुरुष, एक बालिका र पहिचान नखुलेका छ जनाको शव फेला परेको छ। गोरखामा दुई महिला, १० पुरुष, एक बालक तथा पहिचान नखुलेका सात जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
चितवनमा सबैभन्दा बढी १५ महिला, १९ पुरुष, दुई बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव फेला परेको छ। तनहुँमा एक महिला, छ पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ।
त्यसैगरी नवलपरासी पूर्वमा छ महिला, १५ पुरुष, चार बालिका, एक बालक र पहिचान नखुलेका छ जनाको शव फेला परेको छ।बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

